Sunday, December 5, 2010

समिक्षा : हाँसिदेऊ एकफेर विष्णु शर्मा,

review_in_400चलचित्र : हाँसिदेऊ एकफेर
निर्देशक : शिव रेग्मी
निर्माता : रमेश त्वायना, राजेशकुमार संगमिखा
अभिनय : मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजवल्लभ कोइराला, श्वेता खड्का, सुशिल क्षेत्री
संगीत : दिनेश अधिकारी
ब्यानर : तेजस्वी फिल्म्स प्राली
श्रेणी : कमेडी/सोसल ड्रामा
सेन्सर सर्टिफिकेट : यू
अवधि : २ घण्टा २० मिनेट
बजेट : ९० लाख
रेटिङ : ३

अत्यन्त जटिल रहस्यहरुको खोज सरल प्रश्नबाट सुरु हुन्छ -चलचित्र 'हाँसिदेऊ एकफेर'ले यस्तै भन्छ । निर्देशक शिव रेग्मीले पन्ध्रौं सिनेमाका रुपमा 'सोसल ड्रामा' श्रेणीको सरल चलचित्र पस्किएका छन् । माया हराएको नेपाली समाजमा निर्देशकले यस्तो एउटा सशक्त तर सामान्य कथाको उठान गरेका छन् जुन मानवीय सम्बन्धहरु विगठन भएको अहिलेको नेपाली समाजका लागि बान्छनिय बन्छ । पछिल्लो समय लगालग बनिरहेका फर्मुला र एउटै ट्रेन्डका नेपाली सिनेमालाई 'ब्रेकथ्र' गरिदिएका छन् रेग्मीले, एउटा सरल तर रहस्यमयी प्रश्नहरुको उठान गरिदिएर । स-सना खुशि बिर्सिएर ठूला-ठूला दुःखको पछाडि लाग्ने मानवीय प्रवृत्तिलाई रजतपटको क्यानभाषमा उतार्न चलचित्र सफल छ ।

निर्देशकले सिनेमामा यस्ता परिस्थिती र पात्रहरु खडा गरिदिएका छन् जसले दर्शकमा उद्देलना पैदा गर्छ । प्रेम र पैसालाई महत्व दिने विपरित चरित्रका पात्रहरुको घर्षण, वर्गीय समाजको अन्त्यहिन द्धन्द्ध र प्रेमका सामु पराजित हुने परिस्थितीहरुलाई पर्दामा उतार्न निकै मिहेनत गरिएको छ । मेकिङका एकाध कमजोरीलाई छाडिदिने हो चलचित्रले दुःखी ओठ र अनुहारलाई हाँस्न गरेको आग्रह साँच्चिकै नेपालीका लागि स्वागतयोग्य छ ।

कथा : चलचित्रमा हरिवंश गाउँका एकजना सोझो, कर्तव्यपरायण र दयालु पात्र हुन् । दुर्घटनामा उनका ज्वाइँ र बहिनीको निधन भएपछि भान्जा राजवल्ल्भलाई लिएर पालनपोषण गर्न सहर आउँछन् । मामा र भान्जाबीच पिता-पुत्र जस्तै प्रेम हुन्छ । सहर आएपछि उनको भेट मदनकृष्णसँग हुन्छ जो प्रेममा विश्वास गर्दैनन् । श्रीमती मिथिलाको रोगका कारण मृत्यु र धनसँग छोरा सुशिलको आडम्बरका कारण उनी घर छाडेर पाटीको आश्रममा जीवन गुजारिरहेका हुन्छन् । प्रेममा विश्वास गर्ने हरिवंश र प्रेमलाई विश्वास नगर्ने मदनकृष्णबीच चिनजानसँग घनिष्ठ सम्बन्ध बन्छ । भान्जा राजवल्लभ सुन्दरी युवती श्वेता खड्कालाई मनपार्छन् र विहे पनि उनैसँग गर्छन् । सबै व्यक्तिलाई कर्तव्यपरायण र मायालु तुल्याउने हरिवंशको कामलाई गुन्डाहरुले पटक्कै मनपार्दैनन् । आखिर तिनै गुन्डाहरु हरिवंशसामु प्रेमको बोध गर्न थाल्छन् । जुन कुरा सहरका ब्यापारी सुशिलले पनि अनुभूति गर्छन् र परित्यक्त पितालाई घरमा भित्र्याउँछन् । भान्जीबुहारी श्वेताले पनि मामाससुरा हरिवंशलाई बल्ल बुझ्छिन् । गुन्डाहरुको अन्त्यपछि हरिवंश गाउँ फर्कन्छन् र पुरानै खुशिका दिनहरु उनीहरुको जीवनमा फर्कन्छन् । अन्त्यमा हरिवंश भन्छन् -लामो होइन मीठो जीवन बाँच्नुस ।

निर्देशन : 'कन्फ्लिक्ट'को उठान र समापन चलचित्रको सबैभन्दा राम्रो पक्ष हो । 'द्धन्द्धको विकास'मा निर्देशकले पर्याप्त मिहेनत गरेका छन् । पटकथामा कहिँकतै ब्यवधान देखापरेपनि समग्रमा 'स्क्रिनप्ले' सलल छ । अभिनय, निर्देशन र पटकथाको त्रिकोणिय 'कम्युनिकेसन'ले दर्शकहरु आफू पात्रको जीवनको नजिक पुगेको अनभूति गर्छन् ।

अभिनय : हरिवंश आचार्य 'मटिल्डायमेन्सन' चरित्रका रुपमा दमदार छन् । सिङ्गो चलचित्र उनको वरिपरि फन्को मारेको छ । नौवटा गेटअपमा हरिवंशले निकै मिहेनत गरेका छन् । हाँस्य र कारुणिक कथानकमा पनि भाव व्यक्त गराउन हरिवंशलाई निर्देशकले 'कागती निचोरेजस्तै निचोरेका' छन् । हरिवंशको भूमिकामा अरु भए कस्तो हुन्थ्यो सोच्नुस् त ? मदनकृष्ण श्रेष्ठ आदर्श पात्रका रुपमा अब्बल छन् । राजवल्लभ र श्वेताको भूमिका छोटो छ तर प्रशंसनिय छ । सुशिल क्षेत्री आडम्बर पात्रका रुपमा 'लाउड' छन् । प्रत्येक दृश्यमा एक परिचित अनुहार त देखिन्छ जसले दर्शकलाई अझै पात्रसँग नजिक तुल्याउँछ । संवाद औषत छ । सिनेम्याट्रोग्राफी, कस्ट्युम डिजाइनिङ, लोकेसन चलचित्रको कमजोर पक्ष हो ।

संगीत : चलचित्रको संगीत मध्यम छ । पटकथाअनुसार संगीतको तादात्म्यता मिलेपनि कर्णप्रिय तुल्याउन दिनेश अधिकारीले मिहेनत गरेका छन् । 'नपुगेका रहरहरु', 'माया संसार हो', 'साउन भदौमा मात्र पर्छ झरी' निकै कर्णप्रिय छन् । गायनमा पनि महजोडी, मोहितवंश, सोनु कक्कड र उदितनारायणले मिहेनत गरेका छन् । प्रस्तुत गीतका शब्दहरु बलिया लाग्छन् ।

किन हेर्नुपर्छ ?: आठवर्षपछि महको दमदार कमब्याक, पूर्वाद्धको कमेडी र उत्तराद्र्धको सेन्टिमेन्ट कथा दर्शनिय पक्ष हुन् । प्रेमको शक्तिमा विश्वास गर्नेहरुले चलचित्र हेर्नैपर्छ ।

0 comments:

Post a Comment

  © Namaskar TheVermontNepali by Suman Thapa 2011

Back to TOP